प्रचण्डको ‘दाहालतन्त्र’

-अक्षर काका  
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी्भित्र परिवारवाद भित्र्याएका छन् । छोराछोरीलाई स्वकीय सचिव बनाउनेदेखि भाइलाई प्रदेश अध्यक्ष र ज्वाइँलाई सरकारी नियुक्ति दिलाउनेसम्ममा उनले ‘कीर्तिमान’ नै कायम गरेका हुन् ।
तत्कालीन नेकपा माओवादीले शुरू गरेको जनयुद्धमा परिवारका सदस्यलाई समेत आफूसँगै बन्दुक बोकाएर ‘उदाहरणीय’ बनेका अध्यक्ष दाहाल यतिबेला हामीबाट ‘म’मा ओर्लिएको चर्चा पार्टी्भित्रै हुन थालेको छ ।
बम बम बम
त्यसो त दाहाल पारिवारवादको चङ्गुलमा फसेको नयाँ घटना भने होइन । २०६५ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका बेलादेखि नै ‘दाहालतन्त्र’को शुरूआत गरेका हुन् उनले । त्यतिबेला हाल दिवंगत भइसकेका छोरा प्रकाश दाहाललाई सचिवालयमा नियुक्त गरेको भन्दै पार्टी्भित्र आलोचनाको स्वर सुनिएको थियो ।
दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुँदा पनि उनले परिवार र नातागोतालाई सरकारी नियुक्ति दिलाउन छाडेनन् । नाताले आफ्नै भतिजा पर्ने समीर दाहाललाई उनले पीए नियुक्त गरेका थिए । त्यस्तै, छोरा प्रकाश दाहाललाई पनि पार्टी पोलिट्व्यूरो सदस्य र प्रधानमन्त्रीको सचिवालयमा राखिएको थियो ।
०७५ मा आइपुग्दा अध्यक्ष दाहाल परिवारवादको चङ्गुलमा नराम्ररी फसेको प्रतीत हुन्छ । यसपटक छोरी, ज्वाइँ, बुहारी गरी झन्डै आठजनालाई उनले सरकारी नियुक्ति दिलाएका छन् भने भाइ नारायण दाहाललाई प्रदेश अध्यक्ष बनाउन सफल देखिएका छन् ।
छोरीलाई मेयर, बुहारीलाई मन्त्री
०७४ वैशाखमा सम्पन्न भएको पहिलो चरणको स्थानीय तहयको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना सम्झन लायक रह्यो । कांग्रेस–माओवादी केन्द्रकी साझा उमेदवारकी रूपमा रहेकी प्रचण्डपुत्री रेणु दाहाललाई मेयर जिताउन मतपत्र च्यात्ने र दोहोर्याएर चुनाव गराउनेसम्म प्रपञ्च रचियो । र, रेणु भरतपुर महानगरपालिकाको मेयर बनिछाडिन् ।
मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा अध्यक्ष दाहालले बुहारी बिना मगरलाई कञ्चनपुर–१ को टिकट दिए भने ज्वाइँ जीवन आचार्यलाई मोरङ–६ को (क) मा प्रदेशको टिकट दिलाए ।
बुहारीले चुनाव जितिन् । ज्वाइँ जीवन भने निर्वा्चित हुन सकेनन् । स्वर्गीय छोरा प्रकाशकी कान्छी पत्नीका रूपमा भित्रिएकी बिनालाई सांसदमा निर्वा्चित गराएरमात्रै पुगेन, मन्त्री नै बनाउने रहर जागृत भयो । र, अहिले केपी ओली नेतृत्वको सरकारमा उनी सरसफाइ तथा खानेपानी मन्त्रीमा बहाल छिन् ।
भाइलाई अध्यक्ष, ज्वाइँलाई स्वकीय सचिव
 प्रचण्ड ‘दाहालतन्त्र’का कस्ता सर्जक हुन् भन्ने कुरा बुझ्न प्रदेश ३ को अध्यक्ष छनोट हेरे पुग्छ । ५ असोजमा बसेको पार्टी सचिवालय बैठकले प्रदेशको अध्यक्ष र इन्चार्ज तोकेको थियो । सात प्रदेशमध्ये चार प्रदेश पूर्व माओवादी केन्द्रको भागमा परेको थियो । त्यसमध्ये प्रदेश ३ को अध्यक्षमा आफ्ना भाइ नारायण दाहाललाई छनोट गरेका छन् प्रचण्डले ।
पद र जिम्मेवारी आफ्ना नाता–गोतालाई सुम्पने प्रचण्डको कदम यतिमै सकिँदैन । जेठी छोरी जानु दाहाल (हाल उनी दिवंगत भइसकिन्) का पति सागर केसीलाई सभामुख कृष्णबहादुर महराको स्वकीय सचिवमा नियुक्त गराएका छन् ।
त्यस्तै, माइला ज्वाइँ अर्जुन पाठक (जो रेणु दाहालका पति हुन्) लाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको विशेष सल्लाहकारमा चयन गरेर सरकारी सेवा–सुविधा दिलाउन सफल भएका छन् ।
दुवै छोरी सत्ताको वरिपरि
माइली छोरी बाबुको ‘उत्तराधिकारी’का रूपमा भरतपुर महानगरको ‘बागडोर’ सम्हालिरहेकी छिन् भने कान्छी छोरी गंगा दाहाल पनि राज्यकोषको सेवा सुविधाबाट पर छैनन् ।
गंगालाई अध्यक्ष दाहालले आफ्नै सचिवालयमा राखेका छन् । दिवंगत छोरा प्रकाशले गर्दै आएको काम छोरीले गरिरहेकी छिन् ।
चुनाव हारेपनि सत्ताको सुविधाभोगबाट कान्छा ज्वाइँ जीवन पनि अछुतो छैनन् । मोरङ ६–को प्रदेशसभामा पराजित भएका आचार्य भर्खरै उपराष्ट्रपति नन्दबहादुर पुनको विशेष सल्लाहकारमा नियुक्त भएका छन् । उनी तीन महिना अघिदेखि त्यहाँ बहाल रहेको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
प्रचण्डपथको पटाक्षेप
नाता–गोता, इष्टमित्रलाई मात्रै पोस्ने दाहालको कार्यशैलीको पार्टी्भित्र विरोध हुन थालेको छ । विशेषगरी पूर्व माओवादीभित्र उनको कृत्यप्रति असन्तुष्टि चुलिएको हो ।
कतिपय नेताकार्यकर्ताले यसलाई प्रचण्डपथको नैतिक अवसानका रूपमा समेत व्याख्या गरेका छन् । “जनयुद्धमा परिवारका सदस्यलाई पनि आफूसँगै भूमिगत बनाउने र परिवर्तनको बाटोमा हिँडाउने प्रचण्डको शान्तिपूर्ण राजनीतिमा आइसकेपछि त्यसको उपलब्धि आफ्नै परिवारको पोल्टामा परोस् भन्ने मान्यताबाट अघि बढिरहनुभएको छ,” पूर्व माओवादीका नेता भन्छन् ।
त्यस्तै, छिमेकी मुलुक चीनमा कतिपय राजनीतिक नेतृत्वले क्रान्तिताका सशस्त्र संघर्षमा ज्यान गुमाएका सहिद परिवार र तिनका छोराछोरीलाई अभिभावकत्व प्रदान गरेको र कतिपयको पढाइ नै नेताहरूले पूरा गरिदिएको पाठ पढाउने नेताहरूले शान्ति प्रक्रियामा अवतरण भइसकेपछि आफ्नै परिवारभन्दा बाहिर निस्कन नसक्नु दुखद् भएको ती नेताको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस

क्रान्ति , किन र कसरी : नेत्र बिक्रम चन्द ‘विप्लव’

क्रान्ति भनेको आमूल परिवर्तन हो । पुरानोको निषेध र नयाँको स्थापना हो । राजनीतिक क्रान्ति भनेको पुरानो राजनीतिक सत्ता र व्यवस्थालाई गरिने आमूल

को पत्रकार ? कस्तो पत्रकारिता ?

–भुपेन्द्र वली शुरुवात आफैबाट गर्छू — विकट स्थानमा जन्मे । हुर्कदा युद्धकाल थियो । शहरबाट गाउँ तिर मान्छे त जाँदैनथिए भने पत्रिका जाने कुरै थिएन ।

रिहा भएपछि असलको पहिलो लेख 'राज्य आतङ्क र क्रान्तिकारीको दायित्व'

-चन्द्र वहादुर खड्का (असल) जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ । जनताले राज्यले अङ्गिकार गर्ने कदमको सचेततापूर्वक प्रतिक्रिया दिन्छन् । राज्यले