मालिकामा रेखाकी ‘हिरोइन’ जाजरकोटकी कमलाको कथा 

रेखा थापा अचेल ‘हिरोइन’ कम, ‘हिरो’ ज्यादा हुन्। 
यसको कारण, उनले फिल्ममा खेल्ने भूमिका होइन। उनले रोजेको फरक बाटो हो।
रेखा महिलाकेन्द्रित फिल्म बनाउँछिन्।
नेपाली सिनेमाले लामो कालखण्ड यस्ता महिला पात्र पर्दामा देखायो, जो आँशु बगाउँदै बुहार्तन सहन्छ। समाजको थिचोमिचोमा दबिएर बस्छ। पीडाको बोझले पासो लगाउँछ। रुन्छ। कराउँछ।
रेखाकी महिला पात्र भने बुहार्तनविरुद्ध विद्रोह गर्छ। समाजविरुद्ध आवाज उठाउँछ। आफू पासो लगाउने होइन, समाजको कुरीतिलाई पासो लगाउँछ।


ऊ रुँदैन। कराउँदैन। बरु अत्याचारविरुद्ध ‘फाइट–ब्याक’ गर्छ।
‘हिरोइन’ को छविलाई ‘हिरो’ मा ढालेकी रेखाले यसपालि नयाँ कोशिस गरेकी छन् — जाजरकोट, कालेगाउँकी एक १५ वर्षीया किशोरीलाई टपक्क टिपेर उनले ‘हिरोइन’ बनाइन्।
रेखाकी यी खोज हुन्, कमला वली।
उनी शुक्रबार रिलिज भएको ‘मालिका’ की हिरोइन हुन्। जाजरकोटबाट काठमाडौं हुँदै देशभरका पर्दामा छाउन आँटेकी कमलाको जीवनमा यसबीच उनी आफैंले नसोचेका परिवर्तन भए।
‘रिल लाइफ’ की पात्रझैं ‘रियल लाइफ’ मा पनि कमला कम बोल्थिन्। अपरिचितसँग त अझै कम।
‘मलाई मान्छेहरूसँग बोल्न भनेपछि त्यसै डर लाग्थ्यो। अहिले त्यो डर हट्दै गएको छ,’ पहिलो फिल्म रिलिजको तयारीबीच सेतोपाटीसँगको भेटमा कमलाले भनिन्, ‘यो फिल्म अरूको निम्ति मनोरञ्जन मात्र होला, मेरो निम्ति यो जिन्दगीकै सबभन्दा ठूलो सिकाइ हो।’
‘रेखा दिदीले मेरो जीवनमा आत्मविश्वास भर्नुभयो। मैले छोरी मान्छे खुम्चिएर बस्नुपर्छ भन्ने सिकेकी थिएँ। रेखा दिदीले मलाई उड्न सिकाउनुभयो,’ उनले भनिन्।
कमला जुन ठाउँमा जन्मिन्, हुर्किन्, त्यहाँ त्यसै पनि सम्भावनाको दायरा सीमित छ। त्यसमाथि छोरीका निम्ति त्यो दायरा घरको चौकोसभित्रै खुम्चिएको हुन्छ। छोरी भएर पनि कमलाले पढ्न पाएकी थिइन्, उनलाई यतिमै सन्तोष थियो।


पखेटा पलाउलान्, र म उडुँला भन्ने सोच त सपनामा पनि थिएन।
कमलाको खासघर रूकुमकोट हो। उनी जाजरकोटमा आफ्नी आमा र सानोबुवासँग बस्छिन्।
उनका बाबुले कमला जन्मेपछि नै आमा छाडेर अर्कीसँग विवाह गरे। कमलाले रूकुमकोटमा मामाघर बसेर ७ कक्षासम्म पढिन्।
यसबीच उनकी आमा पनि दोस्रो विवाह गरेर गइन्। कमला भने मावलमा हजुरबासँगै बस्न थालिन्।
कमलाले न आमाको ममता पाइन्, न बाबुको माया।
‘मलाई पढ्नुपर्छ, केही गर्नुपर्छ भन्ने मान्छे नै कोही भएन,’ उनले भनिन्, ‘यताका बुवा (सानोबुवा) ले पढ्नुपर्छ भन्नुहुन्छ, तर आर्थिक अवस्थाका कारण यस्तो गर भन्ने हौसियत उहाँको पनि छैन।’
गाउँको यस्तो पारिवारिक माहोलमा हुर्केकी कमलाले आफैंसँग पनि कहिल्यै खुल्न जानिनन्।
सपना देख्नु र सपना पछ्याउनु त सपनाकै कुरा।
एकदिन उनको जीवनमा सिनेमाको दृश्यझैं ‘टर्निङ प्वाइन्ट’ आयो।


कमला गाउँको झैझगडा मामला परेर प्रहरी कार्यालय गएकी थिइन्। धेरै मान्छे झुम्मिएका थिए। बाझाबाझ थियो।
त्यही बेला एउटा गाडी प्रहरी कार्यालयअगाडि टक्क रोकियो। गाडीमा जाजरकोटकै स्थानीय नरबहादुर कार्की थिए, जो ‘मालिका’ का कार्यकारी निर्मातासमेत हुन्।
फिल्मको एउटा पात्र निम्ति नयाँ अनुहार छनौट गर्न उनीहरू विभिन्न ठाउँमा ‘अडिसन’ लिँदै हिँडेका थिए। सुर्खेतमा थुप्रै किशोरीको अडिसन लिँदा चित्त नबुझेपछि कार्की आफ्नो टिमसहित जाजरकोट छिरेका रहेछन्।
त्यस दिन प्रहरी कार्यालयसामु भिडभाड देखेर उनीहरू अडिए। त्यहाँका प्रहरीदेखि मेयरसम्म उनको राम्रो चिनजान थियो।
कार्की केही बेर त्यहीँ उभिइरहे। गाउँलेहरू बाझेको हेरिरहे। मान्छेका कुरा सुने। प्रहरीले सम्झाउन नसकेको देखे।
त्यही क्रममा उनको ध्यान एउटी किशोरीमा गयो। उनी हल्लाखल्लाको बीचमा शान्त थिइन्। भुइँतिर एकोहोरिएका ती अबोध, तर एकाग्र आँखाले उनलाई तान्यो। उनको भाव शान्त थियो, तर अनुहारमा क्रोधका रेखा प्रस्ट झल्किन्थ्यो।


खुट्टाका बूढीऔंलाले निरन्तर भुइँ कोतरिरहेकी ती किशोरी कमला वली थिइन्।
कार्की उनैलाई हेरेर बसिरहे।
झगडा साम्य भएपछि उनले सोझै गएर कमलालाई सोधे, ‘हामी रेखा थापाको नयाँ फिल्मका निम्ति कलाकार खोज्दै हिँडेका छौं। तिमी खेल्छौ?’
उनी ‘खै के, खै के’ भइन्। न हुन्छ भन्न सकिन्, न हुन्न।
यसैबीच कार्कीले कमलाका केही फोटो खिचे। र, आफ्नो सम्पर्क नम्बर टिपाएर बाटो लागे।
उनले जाजरकोटमा खिचेका तीन–चार जनाका फोटोमध्ये रेखालाई कमला चित्त बुझ्यो।
रेखा भेट्न गइन्।
भेटेपछि त झन् हुरुक्कै भइन्।
रेखाले कमला छनौट गर्नुका केही कारण छन्।


‘कमलामा मैले आफ्नो छवि देखेँ,’ रेखाले भनिन्, ‘मेरो खुट्टाको चोरऔंला बूढीऔंलाभन्दा लामो छ। यस्तो हुनेले बूढालाई हेप्छन् भन्ने मैले सानोमा सुनेकी थिएँ। त्यस्तै दाँत फाटेकी केटी पनि राम्रो हुन्न, निधारमा खत भएकी केटी अभागी हुन्छे भन्ने सुनेकी थिएँ। मैले कमलाको निधारमा खत देखेँ। सोचेँ, के खत भएकै कारण यिनी अभागी भइन् त? यिनलाई म मेरै भाग्यसँग जोडेर हेर्छु।’
यति मात्र होइन, रेखालाई उनको आँखाको भावले पनि छोयो।
‘कमलाका आँखामा कर्णालीका छोरीहरूको अनुहार झल्किन्छ,’ उनले भनिन्।
छनौट त भयो, तर कमलालाई फिल्म खेलाउन सजिलो थिएन।
एक त उनको ग्रामीण परिवेश, जहाँ छोरीले सिनेमा खेल्नु भनेको मर्यादाको सीमा नाघ्नु हुन्थ्यो।
अर्को, उनको परिवारको विरोध। सानोबुवा त जसोतसो मानेका थिए, आमाले नाइँ भनेर अड्डी कसिन्। रेखा आफैं प्रस्ताव लिएर जाँदा पनि मानिनन्। भनिन्, ‘रेखा थापा, सेखा थापा म चिन्दिनँ। मेरी छोरीले फिल्म खेल्दिन।’
यहाँ कार्कीले आफ्नो स्थानीय परिचय प्रयोग गरे। उनले जिल्लाका मेयर, सिडिओ, वडाध्यक्षदेखि स्थानीय पत्रकारसम्म लगाएर कमलाकी आमालाई मनाउन खोजे।


उनी मान्दै मानिनन्। बरु मनाउन जाने सबैले उनको गाली खाए।
‘आमा नमान्नु पनि ठिकै हो,’ कमलाले भनिन्, ‘आफ्नो सम्पत्ति (छोरी) कहाँ, के हो, कस्तो मान्छे, केही थाहै नपाई त्यत्तिकै अर्काले भनेको भरमा सुम्पन उहाँको मन मानेन।’
दुई महिना बित्यो। आमा टसमस भइनन्।
रेखा पनि उस्तै अडिग। कमलाबाहेक अरूतिर उनको चित्तै गएन।
कार्कीले जुक्ति लगाए। उनले कमलाका मावलतिरका हजुरबासँग सम्पर्क गरे। कुरा बुझाए। छोरीको भविष्य सप्रन्छ भनेर सम्झाए।
हजुरबाले भने, ‘छोरीको राम्रो हुन्छ भने म आफैं कमलालाई लिएर काठमाडौं जान्छु। बुझ्छु। राम्रो रहेछ भने बल्ल खेल्छे।’
फिल्म युनिट तयार भयो।
कमला हजुरबासँग काठमाडौं आइन्।
काठमाडौं आइसकेपछि पनि उनीहरूले धेरै समय रेखालाई शंकाकै नजरले हेरे। कतिसम्म भने, एकदिन खानेकुरा दिँदा कमलाले खुसुक्क फालिदिइन्।
रेखाकी आमा सरस्वती थापाले यो देखी हालिन्। उनलाई अचम्म लाग्यो। फकाएर कुरा बुझ्ने प्रयास गरिन्।
कमलाले भनिन्, ‘सहरमा बस्नेहरूको भर हुन्न। यिनीहरूले मलाई बेच्न पो लागेका हुन् कि, के थाहा?’
सरस्वतीले यो कुरा रेखा र कार्कीलाई सुनाइन्।
त्यसपछि रेखा कमलालाई लिएर माओवादी नेता शक्ति बस्नेतकहाँ गइन्। आफ्नै गाउँको चिनेको मान्छे भेटेपछि बल्ल कमलालाई रेखा र उनको टिमप्रति विश्वास पलायो।
‘त्यसपछि बल्ल पो हो, यिनले मलाई पत्याएको। मैले साँच्चैको फिल्म खेलाउँछु भनेर विश्वास गरेको,’ रेखाले हाँस्दै भनिन्।


नजिकै बसेकी कमला वर्ष्दिनअघिको घटना सम्झेर लाजले राती भइन्।
‘अब म कहिल्यै घरबाहिर ननिस्केको मान्छे, त्यही भएर हो,’ उनले भनिन्।
कुराकानी क्रममा सँगै रहेका नरबहादुर कार्कीले ठट्टा गर्दै सोधे, ‘तिमीलाई अहिले सबैभन्दा बढी विश्वास कसको लाग्छ?’
कमलाले जवाफ दिइन्, ‘रेखा दिदी र तपाईंको।’
‘मालिका’ मा कमलाले जयाको भूमिका गरेकी छन्। उनी यसमा ‘बालिका वधु’ बनेकी छन्।
यो भूमिका कमलाको निम्ति नौलो थिएन। उनले आफ्नो समाजभित्रै दिनहुँ देख्दै आएको चरित्र। जसको केही पत्र उनको आमासँग मिल्थ्यो। केही पत्र हजुरआमासँग। केही पत्र छिमेकका दिदी–भाउजूसँग।
उनी आफूले अभिनय गर्ने चरित्रका हरेक तह जति धेरै नियाल्थिन्, त्यसमा कुनै न कुनै आफ्नै परिचितका अनुहार मिल्न आउँथ्यो।
जब चरित्र जीवनको अंग बन्छ, अभिनय जीवन्त हुन्छ।
कमलालाई त्यस्तै भयो, सायद।


‘यो फिल्म खेल्नु अघिसम्म म जिन्दगीको बारेमा खासै सोच्दिनथेँ। आमा, हजुरआमा, दिदी, भाउजूहरूले जस्तो जीवन बिताउनुभयो, मेरो पनि त्यस्तै त होला नि भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘म जतिसुकै उडे पनि सुर्खेत बजारभन्दा पर त कहाँ जान सकुँला र भन्ने लागिरहन्थ्यो।’
‘मलाई अब जीवन यस्तै–उस्तै होइन, आफूले चाहेजस्तो बनाउन सकिन्छ भन्ने विश्वास भएको छ। मलाई यो रेखा दिदीले सिकाउनुभयो। रेखा दिदीले मलाई फिल्मको मात्र होइन, जिन्दगीकै हिरोइन बनाउनुभयो,’ उनले भनिन्।
हो, यहीँनिर रेखा थापाको बदलिँदो भूमिका झल्किन्छ।
सिनेमामा ‘हिरो’ को मन जित्न सिफनको साडी लगाएर रुखबुट्टयान पछाडि नाच्ने र लोलोपोतो गर्ने रेखा थापा अचेल ‘फरक’ खोजीमा छिन्। आफ्नो फिल्ममा पनि, आफ्नो जीवनमा पनि।
यसको सुरुआत उनको राजनीतिक यात्रासँग जोडिन्छ।
तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कम्मर मर्काएर चर्चामा आएकी रेखाले त्यसपछि राप्रपामा लागेर राजनीति पछ्याइन्।
‘म चुनाव लड्छु भनेर राजनीतिमा लागेको, राजनीतिक तरंगले मतदातामा सीमित भएँ,’ उनले भनिन्, ‘लाइन बसेर भोट हालिरहँदा मलाई धेरैले किन नउठेको भनेर सोधे। मसँग जवाफ थिएन। हाँसेँ मात्र। घर आएर घोत्लिएँ– अब के?’
रेखाले आफ्ना अगाडि दुई विकल्प देखिन्– राजनीतिक अवसर कुर्ने कि विवाह गर्ने?
उनले पहिलो विकल्प रोजिन्।


राप्रपा प्रवेशपछि पनि तत्कालीन माओवादी नेताहरूसँग उनको निरन्तर सम्पर्क थियो।
यसैबीच, माओवादी नेता तथा मन्त्री शक्ति बस्नेतमार्फत् नरबहादुर कार्कीसँग चिनजान भयो। कार्की जीवनदेखि निराश र गन्तव्य बिराएका व्यक्तिहरूसँग कुराकानी गरेर ऊर्जा भर्ने काम गर्छन्। उनले नेपालसहित अफगानिस्तान, इराक, लेबनान लगायत ठाउँमा समेत परामर्श दिएका छन्।
रेखा र कार्कीको कुरा मिल्यो।
त्यसै त कार्कीको कामै मान्छेलाई आफूभित्र लुकेको ‘हिरो’ चिनाइदिनु हो। उनले ‘हिरोइन’ रेखाभित्र पनि ‘हिरो’ देखे। त्यसलाई जगाउने काम गरे।
फरक धारको खोजीमा रहेकी रेखालाई उनैले सल्लाह दिए, ‘तपाईं छोरीहरूको जीवन सुधार्न किन केही गर्नुहुन्न? तपाईंजस्तो सेलेब्रिटीले यो क्षेत्रमा काम गर्ने हो भने त्यसको प्रभाव धेरै हुन्छ। तपाईंलाई पनि नयाँ क्षेत्रको अनुभव।’
रेखालाई चित्त बुझ्यो।


यहीँबाट सुरु भयो, छोरीका लागि स्वर्णिम नेपाल अभियान।
रेखाले पूर्वदेखि पश्चिमसम्मका दर्जनौं गाउँ गएर छोरीहरू भेटिन्। अन्तर्क्िरया गरिन्। अझै पनि छोरीहरू कति दयनीय अवस्थामा बस्छन् भन्ने बुझिन्। भूगोल र सरकारको प्राथमिकताबाट ठगिएका यी छोरीलाई शिक्षा, स्वास्थ्य लगायत मूलधारमा ल्याउन आफ्नो तर्फबाट कोशिस गर्न थालिन्।
‘करिब ४० प्रतिशत छोरीहरूको बालविवाह हुने रहेछ। मधेसका धेरै छोरी दाइजोका नाममा हिंसापीडित छन्। यहाँ ६ वर्षकी बालिकासमेत बलात्कृत भइरहेका छन्। सामाजिक परिबन्धमा परेर बिहे गर्न बाध्य हुन्छन्। लहैलहैमा लागेर उमेरै नपुगी भागीबिहे गर्छन्,’ रेखाले आफ्नो भ्रमणको अनुभव सुनाइन्।
‘यी सारा कुरा देखेर म झनै कहालिएँ। म आफू एउटा सपनाको शिखरमा पुगेर अर्को सपना नभेट्दाको शून्यमा हराएकी थिएँ। यहाँ लाखौं महिला सपनै नदेखी बाँच्छन्, सपनै नदेखी मर्छन्।’
वर्षौंदेखि दमित महिलालाई जगाउन उनीहरूका सरोकार आफ्नै ढंगबाट उजागर गर्ने अठोट लिइन्, रेखाले।
उनी महिला ‘फाइट–ब्याक’ का विषयवस्तुमा केन्द्रित सिनेमा बनाउन थालिन्।
‘मान्छेले आफू जुन क्षेत्रमा छ, त्यही क्षेत्रबाट हो, समाजलाई योगदान गर्ने। समाज बदल्न सबै जना मन्त्री हुनुपर्छ भन्ने छैन। म कलाकार हुँ। सिनेमा बनाउँछु। सिनेमाका माध्यमबाटै उनीहरूलाई निडर र जुझारू हुन सिकाउन सक्छु। परम्परागत सामाजिक जकडविरुद्ध समाजलाई झक्झक्याउन सक्छु,’ रेखाले भनिन्।
यही क्रममा उनले हिफाजत, रुद्रप्रिया, रावण, रामप्यारी, काली, हिम्मतवाली लगायत सिनेमा बनाइन्।
‘मालिका’ त्यसैको निरन्तरता हो।


‘यसपालि हामीले कहिल्यै फिल्म नखेलेकी गाउँकी महिलालाई काम गराउने योजना बनायौं। यो पनि एक किसिमले महिला सशक्तीकरणकै रूप हो,’ रेखाले भनिन्।
‘मालिका’ मा कमलासँगै जाजरकोटकै शर्मिला रावलले पनि काम गरेकी छन्। यी दुई छोरीको जीवनलाई नयाँ मोड दिन पाएकोमा र उनीहरूलाई सपना देख्न सिकाएकोमा रेखा खुसी छिन्।
‘मैले तिमीहरूलाई यहाँसम्म ल्याएँ। अब कर्णालीका अरू छोरीहरूलाई सपना देख्न र उड्न सिकाउने जिम्मा तिमीहरूको हो,’ रेखाले उनीहरूलाई भनेकी छन्, ‘त्यताको काम तिमीहरूले सम्हाल्नू। मलाई अरू कुरा थाहा छैन।’
कमला प्रतिबद्ध छिन्। भन्छिन्, ‘जसरी रेखा दिदीले मेरो जिन्दगी बदल्नुभयो, म मेरो ठाउँका अरू कमलाहरूको जिन्दगी बदल्छु।’
साँच्चै, रेखा थापा अचेल ‘हिरोइन’ कम, ‘हिरो’ ज्यादा हुन्।

(अशेष अधिकारी-सेतोपाटीबाट)

प्रतिकृया दिनुहोस

“अन्धो पति” (दुई मिनेट लाग्छ, अवस्य पढ्नुहोला)

एक जना युवकले एक सुन्दर युवतीसँग विवाह गरयो‘विवाह पछी दुबैको जिÞन्दगी धेरै नै प्रेमपूर्ण र उल्लासका साथ बित्यो । उसले पत्नीलाई धेरै चाहन्थ्यो र

दार्मामा परम्परागत नाच, खेलकुद प्रतियोगिता पनि हुने भाले तान्ने देखि रस्सकस्सी

अनिल चन्द, अनलाइन तहल्का सल्यान १८, कार्तिक ।   सल्यानको दार्मा गाउँपालिकामा बृहत खेलकुद प्रतियोगिता हुने भएको छ । गाउँमा भएका नयाँ खेलाडीलाई हौसला

नेपाल लोक स्टारको पत्रकार सम्मेलन स्थगित भयो, कारण यस्तो ।

अनलाइन तहल्का  कार्तिक ९, काठमाडौं ।  नेपाली गीत संगीतको इतिहासमा नै पहिलो पटक हुन लागेको सर्वा्धिक पुरस्कार राशीको गायन प्रतियोगिता नेपाल लोक