बुढो भएपछि कहाँ जान्छन् सेना र प्रहरीका कुकुर, विष दिएर मारिन्छ र ?

काठमाडौं –नेपाल प्रहरीले अपराध अनुसन्धान, उद्दार तथा खोजी, विशिष्ट व्यक्तिको सुरक्षाजाँच लगायत कार्यका लागि कुकुरको प्रयोग गर्छ । तालिमप्राप्त कुकुरले जटिल प्रकारका अपराधिक घटनाको अनुसन्धान पनि सम्भव हुने गर्छ । 
नेपाल प्रहरीअन्तर्गत अहिले देशभर ८० को संख्यामा तालिमप्राप्त कुकुर छन् । हरेक प्रदेशमा प्रदेशस्तरीय कार्यालय र केही जिल्ला प्रहरी कार्यालयमा पनि तालिमप्राप्त कुकुर राखिएको छ । 
जन्मेको ३ देखि ६ महिनाका कुकुरलाई आधारभूत र अतिरिक्त गरी ९ महिनासम्म तालिम दिएर विभिन्न ६ विधाका लागि तयार पारिन्छ । प्रहरीको केन्द्रीय कुकुर तालिम केन्द्रकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देउती गुरुङका अनुसार तालिम प्राप्त गरेका यस्ता कुकुरले कम्तिमा ६ देखि ८ वर्षसम्म काम गर्छन् । 
काममा रहने कुकुरले दैनिक ३ सयदेखि ४ सय रुपैयाँसम्म ‘रासन भत्ता’ पाउँछन् । यस्तै उनीहरूको उपचार र थप स्याहारका लागि पनि सरकारले बजेट छुट्याएको हुन्छ । यसरी एउटा कुकुरका लागि वर्षमा १ लाख २० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म खर्च हुन्छ । 

यस्तै नेपाली सेनासँग पनि हाल ७५ वटा तालिमप्राप्त कुकुर छन् । सेनाले पनि जन्मेको ३ देखि ६ महिनासम्मका कुकुरलाई तालिम प्रदान गरेर ‘अब्बल’ बनाउने गर्छ । 
सेनासँग रहेका कुकुरहरू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिको सुरक्षा, विस्फोटक पदार्थको पहिचान र विपदको बेला खोजी तथथथा उद्दारका लागि प्रयोग हुन्छन् । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसनमा समेत कुकुर परिचालन गर्दै आएको छ । 
सेनाले संदिग्ध व्यक्तिको खोजी र नियमित गस्तीमा पनि कुकुरको प्रयोग गर्छ । 
सशस्त्र प्रहरीका कुकुरहरू विपदको बेला उद्दार र खोजीमा बढी सक्रिय हुन्छन् । कतिपय अवस्थामा सीमा क्षेत्रमा सुरक्षा जाँचका लागि पनि कुकुरको प्रयोग गर्ने गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी बाबुराम पाण्डे बताउँछन् । सशस्त्र प्रहरीसँग ५० को हाराहारीमा तालिमप्राप्त कुकुर रहेको जनाइन्छ । 
सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार सेनामा ४ प्रजातिका कुकुर छन् । सुरक्षा निकायले अपराध अनुसन्धान तथा विस्फोटक पदार्थको पहिचानमा जर्मन सेफर्ड प्रजातिको कुकुरलाई बढी विश्वास गर्छन् । यस्तो प्रजातिको कुकुरको नाकमा रहेका कोषिकाहरू बढी सक्रिय हुने तथा सुँघ्ने क्षमता बढी हुन्छ । 
जसका कारण सुँघेर अपराधी पत्ता लगाउनेदेखि विस्फोटक पदार्थको पहिचान गर्न जर्मन सेफर्ड जातका कुकुर बढी सक्षम हुने प्रहरीको कुकुर तालिम केन्द्रकी प्रमुख एसएसपी गुरुङको भनाइ छ । 
 

रिटायरमेन्टपछि कहाँ जान्छन् सुरक्षा निकायका कुकुर ? 
सुरक्षा निकायका कुकुरका लागि मात्रै राज्यले वार्षिक ५ करोडको हाराहारीमा खर्च गर्छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग रहेका यस्ता कुकुरको दैनिक रासनदेखि स्याहार र उपचारका लागि वार्षिक ५ करोड खर्च हुन्छ । 
यी कुकुरहरू उमेरका हिसाबले ६ देखि ८ वर्षसम्म मात्रै सक्रिय हुन्छन् । कतिपय कुकुर कुनै घटनाको अनुसन्धानका क्रममा घाइते भएरपछि काम नगर्ने अवस्थामा पनि पुग्छन् । नेपाल प्रहरीसँग रहेकामध्येबाट मात्रै वार्षिक १० को हाराहारीमा कुकुरहरू ‘रिटायर’ हुन्छन् । 
यस्तै नेपाली सेनासँग रहेकामध्ये वार्षिक ६ देखि ९ को संख्यामा कुकुरहरू ‘रिटायर’ हुन्छन् । सशस्त्र प्रहरीसँग रहेकामध्येबाट पनि वार्षिक ३ देखि ५ को हाराहारीमा कुकुरहरू ‘रिटायर’ हुन्छन् । 
प्रहरी कुकुर तालिम केन्द्रकी प्रमुख एसएसपी गुरुङ रिटायर भएका कुकुरलाई नमरुन्जेलसम्म तालिम केन्द्रमै राखेर पाल्ने गरिएको बताउँछिन् । उनीहरू सक्रिय रहँदाको जस्तो स्याहार र खानको व्यवस्था नगरिएपनि नमरुन्जेलसम्म उपचार र सामान्य खानाको व्यवस्था भने हुने गरेको एसएसपी गुरुङको भनाइ छ । 
नेपाली सेनाले पनि रिटायर भएका कुकुरलाई अलग्गै राखेर ‘पाल्ने’ गर्छ । यस्ता कुकुरको हेरचाहका लागि अलग्गै जनशक्ति खटाइएको हुन्छ । सशस्त्र प्रहरीबाट रिटायर हुने कुकुरको पनि नमरुन्जेल हेरचाह गर्ने गरिएको बताइन्छ । 
 

के सुरक्षा निकायका कुकुरहरू मारिन्छन् ?   
केही पशु अधिकारकर्मीहरूले सुरक्षा निकायका कुकुरलाई ‘रिटायरमेन्ट’पछि मारिने गरिएको पनि दाबी गर्दै आएका छन् । सेना, प्रहरी र सशस्त्र प्रहरीले पाल्ने यस्ता कुकुरलाई सुरक्षा संवेदनशीलताका हिसाबले भन्दै विषालु इन्जेक्सन दिएर मार्ने गरिएको पशु अधिकारकर्मीहरू बताउँछन् । 
खास गरेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवासमा सुरक्षाका लागि परिचालन हुने कुकुरलाई सुरक्षाकर्मीले विषालु इन्जेक्सन दिएर मार्ने गरेको एक पशु अधिकारकर्मीले बताए । 
‘यस्ता कुकुरले सुरक्षाका दृष्टिकोणले गम्भीर मानिएका सबै स्थान थाहा पाउने र सुरक्षा चुनौतिका रुपमा पहिचान भएका व्यक्ति तथा समूहले तिनीहरूको दुरुपयोग गर्ने भन्दै सेना र प्रहरीका कुकुरहरू काम गर्न नसक्ने अवस्थामा पुगेपछि मार्ने गरिन्छ,’ एक पशु अधिकारकर्मीले नाम उल्लेख नगर्ने शर्तमा लोकान्तरसँग भने, ‘काम गरुन्जेल प्रयोग गर्ने र काम गर्न नसक्ने अवस्था भएपछि मार्ने काम अत्यन्तै नराम्रो हो । यस्तो कार्य रोकिनुपर्छ ।’
यस विषयमा सेना, प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरू भने असहमति जनाउँछन् । कुकुरहरू कालगतिले नमरुन्जेलसम्म कसैले नमार्ने सैनिक प्रवक्ता भण्डारीले बताए । ‘सेनाले काम नलागेपछि कुकुर मारिदिन्छ भन्ने हल्ला यदाकदा सुनिन्छ । तर त्यस्तो हैन,’ भण्डारीले भने, ‘हामीले ‘रिटायर’ भएका कुकुरलाई पनि पूर्ण रूपमा संरक्षण गरेर राखेका हुन्छौं । यस्ता कुकुरको दुरुपयोग नहोस् भनेर हामी आफ्नै संरक्षण केन्द्रभन्दा बाहिर भने जान दिँदैनौं ।’
प्रहरी कुकुर तालिम केन्द्रकी प्रमुख एसएसपी देउती गुरुङले पनि सुरक्षाकर्मीले काम सकिएपछि कुकुरहरू मार्ने गरेको कुराप्रति असहति जनाइन् । ‘काम गर्ने अवस्थासम्म प्रयोग गर्ने र नसके मार्ने भन्ने कुरा हुँदैन,’ एसएसपी गुरुङले भनिन्, ‘हामीले रिटायर भएका कुकुरको दाना र हेरचाहका लागि पनि बजेट छुट्याएका हुन्छौं ।’
 

भारतीय नीतिले नेपालमा पनि शंका
भारतमा भने सुरक्षाकर्मीले प्रयोग गर्ने कुकुरहरू काम नलाग्ने अवस्थामा पुगेपछि विष दिएर मारिन्छन् । खास गरेर भारतीय सेनाले आफूसँग रहेका कुकुरलाई ‘रिटायर’ भएपछि सैनिक सम्मानका साथ बिदाइ गरि मार्ने गर्छ । 
कुकुरले सेनाका संवेदनशील ठाउँ र क्षेत्रबारे जानकारी प्राप्त गरेकाले उनीहरूको दुरुपयोग हुने र सुरक्षा खतरा रहने भन्दै भारतीय सेनाले आफूसँग रहेका ‘रिटायर्ड’ कुकुरहरूलाई विष दिएर मार्ने गर्छ । 
एक सैनिक अधिकारी भारतीय सेनाले ‘रिटायर’ भएका कुकुरलाई मार्ने गरेका कारण नेपालमा पनि यस्तै गरिन्छ भनेर हल्ला फैलाइने गरिएको बताउँछन् ।
नेपाली सेनाले आफ्ना कुकुर बुढो भएपनि नमरुन्जेलसम्म हेरचाह गर्ने गरेको उनको दाबी छ । 
लोकान्तरबाट

प्रतिकृया दिनुहोस

पैसाले कसरी यौन–जीवन बर्बाद गर्छ ? यसरी मिलाउने कि सन्तुलन

हालैसालै भएका केही शोधले देखाउँछ, ‘पैसासँग जोडिएका विषयले मानिसको यौन जीवनलाई प्रभावित गरिरहेको छ ।’ वैवाहिक जीवनलाई सफल र सुखी कसरी बनाउने

यस्तो छ महाकवि देवकोटाको महान कृति मुना र मदनको बिछोडको प्रेम कहानी

-महाकवि लक्ष्मीप्रसाद देवकोटा मुनामदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो । मुनामदनलाई लिएर सन् १८५९ मा

आज महाकवि देवकोटाको ११० औँ जन्मजयन्ती

अनलाइन तहल्का  कार्तिक २१, काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न