आजका पत्रपत्रिकामा के के छापिए एउटै अनलाइनमा एउटै लिंक खोले पुग्ने (२०७५ साउन १३)

कामदार नरोक्न मलेसियाको आग्रह

मलेसियाली सरकारले नेपाली कामदारमाथि हुने गरेको चर्को शुल्क असुलीबारे आफुलाई जानकारी भएको भन्दै त्यस विषयमा तुरुन्तै समाधान खोज्ने जनाएको छ । 

मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरनले मलेसिया आउने नेपाली कामदारमाथि विभिन्न कम्पनी खडा गरी पुर्वर्ती सरकारले चर्को आर्थिक असुली गर्नेलगायतका निर्णय गरेको उल्लेख गर्दै त्यसलाई रोक्ने प्रक्रिया सुरु भएको बताएका छन् ।

मलेसियाले नेपाली कामदारको भिसा प्रोसेसिङलगायतमा चर्को रकम असुल्ने निजी कम्पनीलाई हटाई सीधा सरकार —सरकारबीच मात्र गर्ने गरी नीतिगत फेरबदल गर्न सक्ने संकेत गरेका छन् ।
, आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

मन्त्रीको मार्कसीट बनाउँदै प्रधानमन्त्रीः मन्त्री महासेठ र पण्डित रेड जोनमा

काठमाडौं - सरकारले अपेक्षअनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाट आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कार्यक्षमता र शैलीप्रति असन्तुष्ट बनेका छन् । 

सरकारविरुद्ध प्रतिपक्षी दलले सडक र सदन तताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रीहरुको कार्यक्षमता मूल्यांकन गर्न थालेको हो । मूल्यांकन राम्रो नआए मन्त्रिपरिषद सदस्यहरुको जिम्मेवार हेरफेर गर्ने मनस्थिततिमा प्रधानमन्त्री पुगेको उनको सचिवालयका एक सदस्यले बताएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । 

आशा गरिएका मन्त्रीहरु समेत परिणाममुखी काममा भन्दा व्यक्तिगत प्रचारमा केन्द्रित भएको र सरकारको ‘स्पिड’लाई आत्मसाथ नगरेको प्रधानमन्त्रीको बुझाइ छ । प्रधानमन्त्री ओलीले कार्यक्षमतामा कमजोर देखिएका मन्त्रीहरुलाई छुट्टाछुट्टै बोलाएर सचेत गराउन सुरु गरका छन् । 

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित रेड जोनको एक नम्बरमा छन् । 

ग्रिन जोनअर्थात सन्तोषजनकको सूचीमा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट र अर्थमन्त्री युवराज खतिवडा छन् ।

येल्लो जोनमा नौ जना छन् । यसमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उद्योगमन्त्री मातृका यादव, वनमन्त्री शक्ति बस्नेत, महिला बालबालिका मन्त्री थममाया थापा मगर, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, कृषिमन्त्री चक्रपाणि खनाल, खानेपानी मन्त्री विना मगर र सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा छन् ।

केही मन्त्री समीक्षमा परेका छैनन् ।

अब ई— पासपोर्ट, यस्तो बन्नेछ  !

सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट एमआरपी लाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट ई पासपोर्ट मा लैजान परराष्ट्र मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदा गरेको छ । 

केहि दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले एमआरपीलाई थप सुरक्षित बनाउन ई—पासपोर्टमा लैजान प्रक्रिया थाल्न परराष्ट्रलाई स्वीकृति दिएको हो ।

एमआरपीमा पासपोर्टवाहकको केहि ब्यक्तिगत सुचना मात्र समेटिन्छ । तर ई पासपोर्टमा ब्यक्तिगत सुचनासँगै बाहकको आयोमेट्रिक डाटा राखिन्छ, जसले पासपोर्टलाई थप सुरक्षित बाउँछ । 
पासपोर्टमा चिपसहित पासपोर्टवाहकको औठाछाप, आँखाको नानी र तस्विर पनि राखिन्छ ।, आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छ । 

१३ बर्षीया निर्मलाको हत्या, टुट्यो आमाको सहारा !

कञ्चनपुर - भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको रहस्यमय मृत्यु भएको छ । बिहीबार दिउँसैदेखि हराएकी उनको शुक्रबार बिहान भीमदत्त नगरपालिका–२ र १८ को सिमानामा पर्ने निम्बुखेडाको पत्थर खोलाछेउ उखुबारीमा शव भेटिएको हो । घटनास्थल उनको घरबाट एक किलोमिटर दूरीमा छ ।

स्थानीय सरस्वती उच्चमाविको कक्षा ९ मा अध्ययनरत निर्मलाको हत्या भएको आशंका प्रहरी र आफन्तले गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेठीका अनुसार उनको बाहिरी शरीरमा कहीं पनि घाउचोट छैन । उनको मृत्युको कारण खोजी भइरहेको डीएसपी सेठीले जानकारी दिए । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

आमा दुर्गादेवीका अनुसार निर्मलाले चलाएको साइकल महेन्द्रनगर–बागफांटा सडकको छेवैमा थियो । कापी–किताब पनि साइकलमै थिए । बिहीबार दिउँसो साथी रोशनीको घर गएकी निर्मला त्यसपछि घर नफर्किएको दुर्गाले जानकारी दिइन् ।

‘गाउँकै सोझी र पढाइमा मिहिनेती थिई,’ निर्मलाकी छिमेकी विमला पन्तले भनिन्, ‘छोरीकै सहारामा आमाले गुजारा गरिरहेकी थिइन् ।’ घरैमा चटपटे पसल चलाउँदै आएकी दुर्गा बिहीबार निर्मलालाई पसल जिम्मा लगाएर सामान लिन भारतको बनवासा गएकी थिइन् । फर्केर आउँदा छोरी नदेखेपछि खोजी सुरु गरेको र साँझ प्रहरीमा खबर गरेको दुर्गाले बताइन् ।

शव भेटिएलगत्तै निम्बुखेडा र उल्टाखामका महिलाले ‘हत्यारा’ पत्ता लगाई कारबाही गर्न माग गरेका छन् । 

नियमित सञ्चालन हुँदैनन् प्रदूषण मापन स्टेसन

काठमाडौं - वायु गुणस्तर मापनका लागि स्थापना गरिएका स्टेसन नियमित रुपमा सञ्चालन नहुँदा वायु प्रदूषणको वास्तविक अवस्था थाहा पाउन समस्या हुने गरेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

कुनै पनि वायु प्रदूषण मापन स्टेसन बाह्रै महिना नियमित सञ्चालन हुँदैनन् । स्टेसनका उपकरणमा दोहोरिरहने प्राविधिक गडबढीले वायुको तथ्यांक संकलन प्रभावित बन्दै आएको छ । काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न ५ स्टेसनका उपकरण समयमा मर्मतसम्भार नहुँदा प्रदूषणको तथ्यांक संकलन नियमित बन्न सकेको छैन ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको एक स्टेसन विगत १० महिनायता अवरुद्ध छ भने शंखपार्कको स्टेसन एक महिनादेखि अवरुद्ध छ । त्यसै गरी पोखराका ३ स्टेसन पनि विगत एक महिनादेखि सञ्चालन हुन सकेका छैनन् । उपकरण नियमित अपडेट ‘क्यालिब्रेसन’ गर्ने क्रममा ४ वटा स्टेसन अवरुद्ध भएको र कीर्तिपुर स्टेसनका ब्याट्री र उपकरण चोरी भएकाले सञ्चालन हुन नसकेको वातावरण विभागले जनाएको छ ।

पोखराका ३ वटै स्टेसनका उपकरण क्यालिब्रेसनका लागि एक महिनाअघि नै काठमाडौं ल्याइएको र बढीमा २÷३ दिनभित्रमा सकिनुपर्ने क्यालिब्रेसन प्राविधिक अभावमा हुन नसकेको विभागका सिनियर केमिस्ट शंकरप्रसाद पौडेलले बताए । 

कर्मचारी समायोजन प्रक्रिया अघि बढाउन यस्तो तयारी

काठमाडौं - सरकारले यही साउन १५ गतेदेखि जटिलतालाई फुकाउँदै कर्मचारी समायोजन प्रक्रियाको अघि बढाउने तयार गरेको छ ।

संघीयता कार्यान्वयनमा कर्मचारी समायोजन प्रक्रिया सरकारका लागि अहिले पनि टाउको दुखाइको विषय बन्दै आएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

खटाइएको गाउँपालिकामा वा नगरपालिकामा कर्मचारी नजाने, गएका कर्मचारी केही दिन बसेर फेरि मन्त्रालयमा फर्किने, समायोजनमा जान चाहने कर्मचारी पनि काठमाडौं उपत्यकाका स्थानीय तहमा जान होडबाजी गर्नेजस्ता कारणले समायोजनमा जटिलता थपेको हो ।

कर्मचारी समयोजनको जटिलताले गर्दा अहिले पनि प्रदेश र स्थानीय तह चलायमान हुन नसकिरहेको स्थितिमा त्यसको समस्या क्रमशः हल गर्दै जाने तयारीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहकार्य गरिरहेको छ ।

दलितले छोएको पानी चल्दैन, जनप्रतिनिधिलाई

जुम्ला - जुम्लाको तातोपानी गाउँपालिकाको बैठकस्थल पुग्नुभयो भने तपाईं अचम्ममा पर्नुहुनेछ । सामूहिक बैठक बस्ने प्रतिनिधिहरु दलित प्रतिनिधिले छोएको चिया र पानी समेत पिउन मान्दैनन् । 

दलित प्रतिनिधिले छोएको पानी पिउन नमान्ने सर्वसाधारण जनता पनि होइनन् । कथित माथिल्लो जातका जनप्रतिनिधि नै हुन् । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।

गाउँमा जातीय बहिष्करणको शिकार बनेका नागरिकसँगै गाउँपालिका बैठकमै माथिल्लो जातका व्यक्तिले पानी छोइदिएको भन्दै खान नमानेको तितो अनुभव सुनाउँछन्, दलित प्रतिनिधि । 

दलित भएकै कारण गाउँ कार्यपालिकाको बैठकदेखि विभिन्न सभा सम्मेलनमा समेत सहकर्मीबाटै हेपिएको तितो अनुभव दलित प्रतिनिधिसँग छ । 

तातोपानी गाउँपालिका-५ की वडा सदस्य दुरुपति नेपाली आफू दलित भएकै कारण सार्वजनिक ठाउँमा कयौंपटक हेपिनुपरेको बताउँछिन् ।

बलात्कार आरोपमा दुई प्रहरी पक्राउ

बलात्कार आरोपमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका छन् ।

कलंकीको आशीर्वाद गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उपत्यका सुरक्षा कार्यालय सतंगलमा कार्यरत सशस्त्र प्रहरी जवानद्धय रामसरण पोखरेल र चन्द्रबहादुर पछाई रहेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

 सरकारी जग्गा हाउजिङ कम्पनीलाई

ललितपुर खुमलटारस्थित ४२ रोपनी सरकारी जग्गा निजी कम्पनीलाई भाडामा दिएपछि स्थानीयले विरोध गरेका छन्।

रेडियो नेपालको स्वामित्वमा रहेको उक्त जग्गा निजी कम्पनीलाई हाउजिङ निर्माणका लागि भाडामा दिएको विरोधमा स्थानीय आन्दोलित भएका हुन्।

उक्त जग्गामा प्राकृतिक विपत्तिका बेला स्थानीयले आश्रय लिँदै आएका छन्।,यो खबर आजको नागरिक दैनिकमा छ । 

एक वर्षअघि सूचना तथा सञ्चार मन्त्रालय र रेडियो नेपाल सञ्चालक समितिले उक्त जग्गा भाडामा दिने निर्णय गरेका थिए।

त्यतिबेला निजी क्षेत्रलाई व्यापारिक प्रयोजनका लागि जग्गा भाडामा नदिने सम्झौता भएको थियो। तर, सम्झौता उल्टाउँदै निजी क्षेत्रलाई जग्गा दिएपछि स्थानीयवासी आक्रोशित भएका हुन् । स्थानीयको विरोधपछि कुनै पनि संरचना बनेका छैन।

२०७४ जेठ २९ गते सञ्चार मन्त्रालय र रेडियो नेपालले उक्त जग्गा ३० वर्षका लागि भाडामा दिने निर्णय भएको थियो। त्यसपछि उक्त जग्गा कुवेर ज्ञान हाउजिङ र लक्ष्मी हुन्डाई कम्पनीलाई भवन बनाउन दिइएको थियो।

नेकपाका २२ जनसंगठनः अधिकांशको एकीकरण साउनभित्रै

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकांश भ्रातृसंगठनको एकीकरण साउनभित्रै गर्ने तयारी थालेको छ । 

एकताका लागि गठित कार्यदललाई साउनभित्रै एकीकरण गरिसक्न निर्देशन दिइएपछि सोहीअनुसार काम अघि बढिरहेको कार्यदल सदस्यहरूले बताए ।

निर्देशनलगत्तै शनिबार तत्कालीन एमाले र माओवादी केन्द्रका इन्जिनियरहरूको भ्रातृसंगठनबीच एकता भएको छ । 

यसैबीच, प्रेस चौतारी र प्रेस सेन्टरको एकीकरण तयारी अन्तिम चरणमा पुगेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

 ‘हामीले सकेसम्म साउनभित्रै एकता सम्पन्न गरिसक्न निर्देशन दिएका छौँ,’ नेकपाका महासचिव विष्णु पौडेलले भने, ‘विधान र नियमावली प्रकाशन भइसकेकाले अब भ्रातृसंगठन र तल्ला कमिटीहरूको एकता प्रक्रिया सम्पन्न भइसकेपछि सातवटै प्रदेशमा ठूला प्रकृतिका आमसभा आयोजना गरेर लाखौँको जनपरिचालन गर्नेछौँ ।’

जोशीको प्रमाणपत्र थप शंकाको घेरामा

काठमाडौं - प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गरिसकेका दीपकराज जोशीका शैक्षिक प्रमाणपत्र थप शंकाको घेरामा परेका छन् । जोशी र निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको ‘प्रोग्रेस रिपोर्ट’ का केही आधारभूत विवरण शंकास्पद भेटिएका हुन् । आजको कान्तिपुरले पृष्ठ ३ मा यो समाचार छापेको छ ।

‘दुवै जनाले पेस गरेका ल क्याम्पसका प्रोग्रेस रिपोर्ट भिडाउने हो भने एउटा गलत निस्कन्छ,’ दुवै जनाको अभिलेख रहेको संवैधानिक परिषद सचिवालय स्रोतले भन्यो, ‘संसदीय सुनुवाइका क्रममा उठेको यस्तो गम्भीर प्रश्नको छानबिन हुनुपर्छ ।’ बिहीबारको संसदिय सुनुवाइमा सांसद योगेश भट्टराईलगायतले जोशीको शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भेटिएको बारे प्रश्न उठाएका थिए ।

सचिवालय स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको प्रतिलिपिअनुसार २०३० साउनमा नेपाल ल क्याम्पसमा ‘प्रमाणपत्र तह’ मा भर्ना भएका जोशीको प्रोग्रेस रिपोर्टमा क्रम संख्या ५३३८ उल्लेख छ । २०३१ साउनमा भर्ना भएका गोपाल पराजुलीको प्रोग्रेस रिपोर्टमा क्रम संख्या १३४७६ उल्लेख छ । दुवैको रिपोर्टको ढाँचा एउटै छ ।

कोटेश्वरमा पनि अन्डरपास जरुरी

काठमाडौं - काटेश्वरमा हुने ट्राफिक जामको कारण यात्रुहरुको दैनिकी नै प्रभावित हुने गरेको छ । ट्राफिक प्रहरीहरु जाम व्यवस्थापन गर्न खटिए पनि सवारी साधनको चाप अत्यधिक हुँदा यात्रुहरुले सास्ती बेहर्नु परेको हो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

पेप्सीकोलाका हरि पराजुली दैनिक कोटेश्वरकै सडक हुँदै कार्यालय आवतजावत गर्छन् । तीनकुने–सूर्यविनायक सडक विस्तार भए पनि एम्बुलेन्ससमेत जाममा पर्ने भएकाले एक घण्टा समय नै छुट्याउने गरेको अनुभव सुनाउँछन् उनी ।

ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका अनुसार पैदल यात्रुहरू सडकबाटै हिँड्नुपर्दा झन् जाम हुने गरेको छ । कोटेश्वर–कंलकी आठ लेनको सडक निर्माण गरेसँगै सवारी साधनको चाप पनि बढेको छ । कोटेश्वर हुँदै चक्रपथ र पूर्व जाने सवारीसाधन आवतजावत गर्ने गर्छ । त्यसैले कोटेश्वरमा पनि अण्डरपास निर्माणको बनाउनुपर्ने आवाज उठ्न थालेको छ ।

प्रतिनिनिधिसभा सांसद महेश बस्नेत बढ्दो सवारी चापलाई व्यवस्थापन गर्नका लागि जडिबुटीदेखि कोटेश्वरसम्मको सर्भिस ट्रया खोल्नुपर्ने बताउँछन् । उनले भने, ‘दीर्घकालीन समस्या समाधानका लागि एरपोर्टबाट अण्डरवास बनाउने प्रस्ताव अगाडि बढाइएको छ, तत्कालका लागि कोटेश्वरसम्म सर्भिस ट्रयाक खोल्नुको विकल्प छैन् ।’

उत्तर कोरियाली लगानीका व्यवसाय बन्द गर्न राष्ट्रसंघको परिपत्र

काठमाडौं - संयसक्त राष्ट्रसंघले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेको सबै व्यापार व्यवसय बन्द गर्न नेपाललाई निर्देशन दिएको छ । आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

राष्ट्रसंघ मातहत गठित निकाय कोअर्डिनेटर अफ युनाइटेड नेसन्स सेक्युरिटी काउन्सिल प्यानल अफ एक्स्पर्टले साउन पहिलो साता परराष्ट्र मन्त्रालयलाई पत्र लेखी उत्तर कोरियाली मुलुक तथा नागरिकको स्वामित्वमा सञ्चालित सबै उद्योग व्यवसाय बन्द गर्न निर्देशन दिएको हो ।

समाचारमा लेखिएको छ, राष्ट्रसंघले आफ्नो परिपत्र बाध्यकारी रुपमा लागू गर्न पनि नेपाललाई सचेत गराएको छ । 

राष्ट्रसंघले प्रतिबन्ध लगाएका मुलुकले विश्वभर व्यापार व्यवसाय वा अन्य कुनै काम गर्न नपाइने र यो प्रावधानको नेपाल सदस्य राष्ट्र भएको पनि पत्रमा स्मरण गराइएको छ ।

नेपालस्थित उत्तर कोरियाली राजदूतावासका कतिपय कर्मचारी काठमाडौंका होटल रेस्टुरामा संलग्न रहेको बताइएको छ । परिपत्र कार्यान्वयनका लागि राष्ट्रसंघले साउन २७ गते सम्मको समय दिएको छ ।

 

प्रतिकृया दिनुहोस

सार्वजनिक ठाउँमा सुत्न नपाईने

एजेन्सी । हंगेरीमा अब सार्वजनिक ठाउँमा सुत्न नपाईने भएको छ । प्रधानमन्त्री भिक्टर ओरबानको सरकारले सार्वजनिक ठाउँमा सुत्नु गैरकानुनी ठहरिने कानुन

यस्ता छन् आजका कार्टुन

काठमाडौँ । नेपालका विभिन्न दैनिक पत्रिकामा व्यङ्ग्यसहितका काटुर्नहरु प्रकाशित भएका छन् । हेर्नुहोस् सोमबार दैनिक पत्रिकामा प्रकाशित केही

५२ करोड तिरेनन् ठूला उद्योगीले

विराटनगर ( मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।  विराटनगरस्थित